detail-img

प्रेस चौतारीलाई पार्टीका कार्यवाहक अध्यक्षको निर्देशनः पार्टीलाई राष्ट्रिय निर्णायक शक्ति बनाउन भूमिका खेल्नुहोस्

२१ चैत (२०८१), काठमाडौं । नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले प्रेस चौतारी नेपालको नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई पार्टी विचार र सिद्धान्तको प्रवर्द्धनमा सशक्त र सक्रिय भूमिका खेल्न निर्देशन दिनुभएको छ ।
बिहीबार पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा बरिष्ठ उपाध्यक्ष पोखरेलले सञ्चार क्षेत्रको भूमिकालाई महत्वपूर्ण बताउँदै प्रेस चौतारीले पार्टीलाई राष्ट्रिय निर्णायक शक्ति बनाउन यसको विचार, नीति र कार्यक्रम जनस्तरसम्म पु‍र्याउने अभियानमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रेस चौतारीलाई डिजिटल माध्यम, सामाजिक सञ्जाल र स्थानीय सञ्चार माध्यममार्फत पार्टीको सन्देश प्रभावकारी रूपमा फैलाउने जिम्मेवारीसमेत स्मरण गराउनुभयो ।
कार्यवाहक अध्यक्ष पोखरेलले पार्टीविरुद्ध फैलाइने भ्रम र गलत सूचना तत्काल खण्डन गर्दै तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न निर्देशन दिनुभयो । तथ्य, प्रमाण र तर्कको बलमा जवाफ दिने अभ्यास संस्थागत गर्न जरुरी छ, उहाँले भन्नुभयो ।
पत्रकारहरूको क्षमता विकासलाई आवश्यकतासँग जोड्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले प्रेस चौतारीभित्र रहेका सञ्चारकर्मीहरूलाई तालिम, अन्तरक्रिया र संवादमार्फत अझ दक्ष बनाउनुपर्ने बताउनुभयो । उहाँले देशभर फैलिएको प्रेस चौतारी नेपालको सङ्गठनलाई थप सुदृढ बनाउँदै सञ्चारकर्मीहरूको हकहितका लागि पनि सङ्घर्षशील बन्नुपर्नेमा जोड दिनुभयो । 
बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– प्रेस चौतारीले प्रेस  स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको रक्षा गर्दै पार्टीको पक्षमा जनमत निर्माण गर्ने भूमिका निर्वाह गर्नुपर्छ ।
कार्यक्रममा प्रेस चौतारी नेपालका नवनिर्वाचित अध्यक्षसहित केन्द्रीय पदाधिकारीहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।