६ माघ (२०८१), पर्वत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकमा देखिएको सङ्कट समाधानका लागि नेपाली कांग्रेस र एमालेबीच विशेष सहमति बनेकाले वर्तमान सरकार अब तीनबर्ष ढुक्कसँग सञ्चालन हुने बताउनुभएको छ ।
नेकपा (एमाले) पर्वतले आजदेखि सञ्चालन गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव तथा केन्द्रीय स्कुल विभाग प्रमुख ज्ञवालीले सरकारमा सङ्कटमा पर्यो वा छिट्टै ढल्छ भन्ने हल्ला विपक्षीलाई सत्ता बाहिर रहँदाको छटपटी मात्र भएको स्पष्ट गर्नुभयो ।
वर्तमान सरकार कुनै पनि सङ्कटमा नपर्ने र २०८४ सालसम्मै देशमा यही सरकार रहने उहाँको भनाइ छ ।
सरकारलाई घेराबन्दीमा पार्नका लागि विभिन्न चलखेल सुरु भए पनि कुनै पनि हालतमा सरकार नडगमडाउने उहाँले बताउनुभयो । कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल मात्र नभएर एकअर्काका सहयात्री पनि भएकाले मुलुक सञ्चालनका लागि दुवै दल गम्भीर रहेको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।
सरकारले ल्याएको अध्यादेश संविधान अनुसार नै आएको र अध्यादेश मुलुकमा तत्काल देखिएका समस्या समाधान गर्न ल्याइएको उहाँले बताउनुभयो ।
सरकार भ्रष्टाचारका विरुद्ध निर्मम हिसाबले लागेको उहाँले बताउनुभयो । प्रशिक्षणमा एक सयभन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।