१३ कात्तिक (२०८१), काठमाडौं । नेकपा (एमाले¬)का महासचिव शंकर पोखरेलले नेपालको मौलिक संस्कार र संस्कृति यति बेला गम्भीर सङ्कटमा परेको बताउनुभएको छ ।
नेकपा (एमाले) चितवनले मङ्गलबार बडादशैं, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले सहकारी ठगेर खोलिएको सञ्चार माध्यममार्फत नेपालको राजनीति, संस्कार र संस्कृतिमाथि आक्रमण गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो– नेपालको मौलिक संस्कृतिमाथि निरन्तर प्रहार भइरहेको छ र सांस्कृतिक मूल्यहरूको विगठन सुरु भएको छ ।
जबसम्म यो प्रवृत्तिमाथि विजय प्राप्त हुँदैन तबसम्म देश अघि बढ्न नसक्ने बताउँदै महासचिव पोखरेलले नेपालको मौलिक संस्कृतिको विगठनलाई रोक्न नसक्ने हो भने राष्ट्रलाई बलियो बनाउन नसकिने स्पष्ट पार्नुभयो ।
सहकारीको सिद्धान्त विपरीत बचतकर्ताले जम्मा गरेको सहकारीको पैसा गोर्खा मिडियामा लगानी गरेर सोही मिडियामार्फत नेपालको राजनीति र राजनीतिक दलमाथि धावा बोल्ने काम भएको उहाँले बताउनुभयो । सो मिडियामार्फत नेपालका राजनीतिक दललाई कमजोर बनाउने काम भएको र अब पुरानाले काम गर्न सक्दैनन् भन्ने भाष्य सोही मिडियामार्फत निर्माण गर्ने काम गरिएको उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले रवि लामिछानेलाई दुई–दुई पटक उपप्रधान तथा गृहमन्त्री नेकपा (एमाले)ले बनाएको पनि उहाँले स्मरण गराउनुभयो । जबसम्म लामिछानेले काम गर्न पाउँदैनन् तबसम्म भ्रम छरिरहन्छन् र जनताले चिन्न सक्दैनन् भनेर नै उनको वास्तविकता बाहिर आओस् भनेर गृहमन्त्री बनाइएको उहाँले स्पष्ट पार्नुभयो ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले तयार गरेको प्रतिवेदन जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले पनि हस्ताक्षर गरेका छन् त्यसकै आधारमा अहिले रवि लामिछाने माथि अनुसन्धान भइरहेको महासचिव पोखरेलले बताउनुभयो । हिजो एमाले र कांग्रेसका नेताहरू अनुसन्धानको लागि पक्राउ पर्दा कुनै पनि विरोध जुलुस नभएको स्मरण गराउँदै उहाँले आरोपीलाई अनुसन्धानको लागि पक्राउ गरेर अनुसन्धान भइरहेको बेला नारा जुलुस गर्नेहरू सुशासनका पक्षधर र नयाँ शक्ति हुन नसक्ने बताउनुभयो ।
महासचिव पोखरेलले जति बेला एमालेका नेतामाथि प्रश्न उठ्यो त्यति नै बेला एमालेले कारबाही गरी अनुसन्धान प्रक्रियामा सहयोग गरेको स्मरण गराउनुभयो । अनुसन्धान र अभियोजनको विरुद्ध आन्दोलन गर्नेहरू किमार्थ सुशासनको पक्षधर नहुने महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।
अहिले एमाले र एमाले नेतृत्वको विरुद्धमा अनेक खाकाका भ्रामक प्रचार गरिएको र त्यसलाई एमालेका नेता, कार्यकर्ताले चिर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
महासचिव पोखरेलले कांग्रेसको अहिलेको पार्टी कार्यालय मैयाँदेवी श्रेष्ठले दिएको दानको जग्गा भएको, राप्रपाले पनि आफ्नो कार्यालय दानमा लिएको तर नेकपा (एमाले)ले आफ्नो पहिलाको भवन भूकम्पले ढलेपछि नयाँ घर बनाउन जग्गा दान लिँदा अहिले देशमा बबण्डर मच्चिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
एमालेका कार्यकर्ता पनि कतै गल्ती पो भयो कि भनेर हिँडेका बताउँदै यस्तो सहयोग नेपालमा मात्र नभएर विदेशमा पनि हुने गरेको उहाँले स्पष्ट गर्नुभयो । संसारभरिका राजनीतिक दल दान र सहयोगबाटै चलेको चर्चा गर्दै महासचिव पोखरेलले प्रश्न गर्नुभयोे– अरूले गर्दा लोकतन्त्र हुने, एमालेले गर्दा भ्रष्टाचार हुन्छ ?
हरेक घटनाको छानबिन गर्न चुनौती दिनुहुँदै महासचिव पोखरेलले भन्नुभयो– हरेक घटनाको छानबिन गरौं, जेल जाने एमालेका होइनन् अरू पार्टीका नेताहरू पर्नेछन्, अहिले सहकारीका जस्तै ।
देश बनाउने हो भने देश बनाउन सक्ने राजनीतिक दलको भर पर्नुपर्ने बताउँदै त्यसका लागि बलिया राजनीतिक दल आवश्यक पर्ने उहाँले स्पष्ट पार्नुभयो । ‘बलियो राजनीतिक दलले मात्र देश बनाउन सक्दछ भन्ने सच्चाइलाई बुझेर हामी अगाडि बढ्नुपर्दछ’, उहाँले भन्नुभयो । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, अर्का स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराई लगायत नेताहरूको अतिथिका रूपमा उपस्थिति रहेको थियो ।