detail-img

अध्यक्ष ओलीद्वारा गणतन्त्र दिवसमा शुभकामना– ‘अधिकारसँगै कर्तव्य नभुलौं’

१५ जेठ (२०८१), काठमाडौं । आज गणतन्त्र दिवस । यस अवसरमा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाली नागरिकले अधिकार प्राप्त गरेको दिनका रूपमा स्मरण गर्दै सबै नेपाली दिदीबहिनी/दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । 
अध्यक्ष ओलीले गणतन्त्र दिवसका अवसरमा आज सामाजिक सञ्जाल फेसबुक पेजमार्फत्  शुभकामना दिनुभएको हो । 
शुभकामनामा अध्यक्ष ओलीले हामीले अधिकार प्राप्त भएसँगै कर्तव्य पनि भुल्न नहुने बताउनुभएको छ । 
उहाँले आजको दिन एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैंले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिन भएको शुभकामनामा उल्लेख गर्नुभएको छ । 
जनताले चुन्ने अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफैमा गलत छ भन्नुहुँदै अध्यक्ष ओलीले कहिलेकाहीं गलत चुनिएको अवस्थामा गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने स्पष्ट गर्नुभएको छ ।  
अध्यक्ष ओलीले लेख्नुभएको छ–
आज गणतन्त्र दिवस ।  एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैंले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिन । गणतन्त्र दिवसको सबैलाई शुभकामना !
आफूले चुनेका प्रतिनिधिले गल्ती गरे उनीहरूलाई चुनावबाट फेर्न यही व्यवस्थामा मात्र पाइन्छ । कहिलेकाहीं हामी गलतलाई चुन्न सक्छौं, तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन । गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ । जनताले चुन्ने अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफैं गलत छ । हामीले अधिकार पाएका छौं, सँगसँगै कर्तव्य पनि नभुलौं । 
सबैलाई शुभकामना !
जय गणतन्त्र !!
जय जय जय नेपाल !!!