detail-img

गण्डकी प्रदेशका जनप्रतिनिधिलाई प्रशिक्षण 

२२ बैशाख (२०८१), पोखरा । नेकपा (एमाले)ले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आजदेखि पोखरामा तीन दिने प्रशिक्षण सञ्चालन गरेको छ ।
प्रशिक्षणको उद्घाटन गर्दै पार्टीका स्थायी कमिटी सदस्य थममाया थापाले एमालेको नेतृत्वमा रहेका पालिकाहरूलाई सुशासन र विकासका नमुना बनाउनुपर्ने बताउनुभयो । 
उहाँले प्रशिक्षणको उद्देश्य पनि यही रहेको स्पष्ट गर्नुभयो । नेकपा (एमाले)ले पारदर्शिता र जवाफदेहीतासहितको विधिको शासनमा जोड दिँदै आएको बताउँदै स्थायी कमिटी सदस्य थापाले त्यसमा अब्बल हुनुपर्ने मान्यता अनुरुप काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले पार्टी र जन(प्रतिनिधि बीचको समन्वय र सहकार्यले मात्रै निर्धारित लक्ष्य पुरा हुने भन्दै समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पुरा गर्न प्रशिक्षण फलदायी हुने बिश्वास ब्यक्त गर्नु भयो ।
प्रदेश कमिटी सचिब धनन्जय दवाडीले जनताका काम छिटो छरितो गर्न र परिणाममुखी बनाउने काममा सहजीकरण होस् भन्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताउनुभयो । पार्टीका पोलिटब्यूरो सदस्य तथा स्थानीय विकास बिभाग प्रमुख देबेन्द्र दाहाल, सचिब हर्कराज राई , केन्द्रीय स्कुल बिभाग सदस्य रामशरण प्याकुरेलसहितका नेताहरूले प्रशिक्षणमा सहजीकरण गर्ने सचिव दवाडीले बताउनुभयो ।
प्रशिक्षणमा पार्टीका तर्फबाट गण्डकी प्रदेशका स्थानीय तहमा निर्बाचित प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र प्रत्येक जिल्लाबाट एक जना वडा अध्यक्षसहित पार्टीका जिल्ला कमिटी अध्यक्ष र इन्चार्जहरू गरी करिब एक सय जनाको सहभागिता रहेको नेकपा (एमाले) गण्डकी प्रदेशका उपसचिब, प्रचार एवम् प्रकाशन विभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिनुभयो ।