detail-img

देश अहिले विकास, समृद्धि र समाजवाद निर्माणको लडाईंमाः महासचिव पोखरेल 

२२ बैशाख (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले इलाम–२ को प्रतिनिधि सभा र बझाङ–१ को प्रदेश सभा निर्वाचनले देशमा नयाँ सन्देश दिएको बताउनुभएको छ ।
शनिबार नेकपा (एमाले) कीर्तिपुर नगर कमिटीको छैटौं अधिवेशनको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशलाई नेतृत्व गर्ने क्षमता एमालेसँग मात्र छ भन्ने कुरालाई उपनिर्वाचनले पुष्टि गरेको बताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– नेपालको भविष्य नै नेकपा (एमाले) हो भन्ने सन्देश दिन हामी सफल भएका छौँ ।
इलामको उपनिर्वाचनले कोशी प्रदेश नामाकरणलाई पनि अनुमोदन गरेको उहाँले बताउनुभयो । पहिचानको नाममा अस्थिरता मच्चाउनेलाई इलामको निर्वाचनमा मतदाताले अस्वीकार गरेका उहाँको भनाइ छ ।
अर्कोतर्फ इलामका जनताले पपुलिजम्लाई आधार बनाई राजनीति गर्न खोज्ने र पुराना दलको काम छैन, अब नयाँ आयौँ भन्नेलाई पनि इलामका मतदाताले बहिष्कार गरिदिएको उहाँले बताउनुभयो ।
‘राजा आऊ, देश बचाऊ’ भनेर तमासा देखाउनेलाई पनि इलामको निर्वाचनले पाठ सिकाएको उहाँले बताउनुभयो । महासचिव पोखरेलले करिब ७० हजार भोट खसेको इलामको निर्वाचनमा राजावादीले एक सय भोट पनि ल्याउन नसकेको र इलामको निर्वाचनले राजावादीको आकाङ्क्षामाथि पानी खन्याइदिएको बताउनुभयोा  
बझाङमा प्रदेश सभाको निर्वाचन एमालेले जितेर केन्द्रको समीकरण अनुसार प्रदेश सरकार बनाउन आवश्यक सङ्ख्या पुगेको उहाँले जानकारी दिनुभयो । 
महासचिव पोखरेलले उपनिर्वाचनबाट जनताले देश बनाउने पार्टी, देशको विकास र समृद्धिको लागि काम गर्ने पार्टी नेकपा (एमाले) हो भन्ने विश्वास जनतामा रहेको कुरालाई पुनः एक पटक प्रमाणित गरिदिएको बताउनुभयो । 
उहाँले भन्नुभयो– देशको भूगोल, जातजाति र सिङ्गो राष्ट्रलाई जोड्ने सामथ्र्य कुनै पार्टीसँग छ भने त्यो नेकपा (एमाले)सँग छ ।
देश अहिले विकास, समृद्धि र समाजवाद निर्माणको लडाइँमा रहेको र राष्ट्रलाई यो यात्रामा डोर्याउन सिङ्गो देश जाग्नुपर्ने महासचिव पोखरेलको धारणा छ ।
उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा कीर्तिपुरको भूमिकाका विगत स्मरण गर्नुभयो । महासचिव पोखरेलले देशको प्रतिष्ठित र साधनस्रोतले सम्पन्न त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमै रहेको हुँदा कीर्तिपुरलाई शिक्षाको हवका रुपमा स्थापित गर्नुपर्ने र त्यसमा स्थानीय पार्टी कमिटीको पनि पहल रहनुपर्ने बताउनुभयो । 
नेकपा (एमाले) कीर्तिपुुर नगर कमिटीका अध्यक्ष चिजकाजी महर्जनको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर र काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।