detail-img

उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गरेको छः उपमहासचिव ज्ञवाली

१९ बैशाख (२०८१), बैतडी । नेकपा (एमाले)का उप महासचिव तथा पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले इलाम र बझाङको उप निर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गरेको बताउनुभएको छ । 
तीन दिने कार्यकर्ता प्रशिक्षणका क्रममा बैतडी आउनु भएका ज्ञवालीले इलाममा बियज कायम राख्नु र बझाङमा सिट थप्नुले एमालेको लोकप्रियता र राष्ट्रिय राजनीतिमा एमाले अपरिहार्य रहेछ भन्ने प्रमाणित भएको बताउनुभयो । 
यो उपनिर्वाचनले नयाँ हौं भन्नेहरू र राजा ल्याउँछौं भन्नेहरूको अवस्था पनि देखाएको वताउँदै उहाँले पानी कति तातो चिसो छ भन्ने थाहा पाउन एउटा औंला डुबाएर परिक्षण गर्दा थाहा भएजस्तै यो चुनावले एमालेको अवस्था थाहा भएको छ भन्नुभयो । 
उपमहासचिव ज्ञवालीले यो चुनावले एमालेलाई उत्साहित बनाएको र यो उत्साहलाई पार्टी निर्माणमा लगाउनुपर्ने धारणा राख्नुभयो । एमालेलाई सबै सक्कली कम्युुनिष्टहरू, देशभक्तहरू चुम्बकजस्तो वरिपरि टाँसिने बनाउने बताउनुभयो । 
प्रशिक्षणका लागि उपमहासचिव ज्ञवालीसँगै संगठन बिभाग प्रमुख काशीनाथ अधिकारी, पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिमका पुर्व मुख्यमन्त्री राजेन्द्र रावल, पोलिटब्युरो सदस्य निरु पाल, पार्टी स्कुल बिभागका सचिव घनश्याम कोइराला  लगायतका नेता बैतडी आउनुभएको छ ।