detail-img

इलामको निर्वाचन परिणाम जातिवाद, अराजकता र पपुलिजम् माथिको विजयः महासचिव पोखरेल

१८ बैशाख (२०८१), बर्दिया । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बैशाख १५ गते इलाम–२ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचन र बझाङ प्रदेश सभा १ मा सम्पन्न प्रदेश सभा निर्वाचन एमालेका लागि अत्यन्त महत्वका निर्वाचन भएको बताउनुभएको छ ।
नेकपा (एमाले) बर्दियाको १०औँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई मङ्गलबार गुलरियामा सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले विरुद्ध विभिन्न भ्रम फिँजाउने काम भइरहेको बेला जनताको अभिमत के छ भन्ने कुरा देखाउन दुईवटा चुनाव महत्वपूर्ण अवसर भएको बताउनुभयो । 
पुराना पार्टीका दिन गए भन्नेलाई उपनिर्वाचनले राम्रो जवाफ दिएको उहाँको भनाइ छ । 
बझाङको प्रदेश सभा निर्वाचन केन्द्रको समीकरण अनुसार प्रदेश सरकार बनाउन र टिकाउनको लागि एमालेलाई जित्नैपर्ने चुनाव भएको हुँदा नयाँ समीकरणलाई सुदूरपश्चिम प्रदेशमा टिकाउन यो जीतले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महासचिव पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो– त्यो चुनाव हामीले आफ्नो योजना अनुसार जित्न सफल भएका छौँ ।
मानव सभ्यता र जीवको विकास नै नदी र नदी किनारबाट भएको चर्चा गर्दै महासचिव पोखरेलले नदीको नामबाट कोशी प्रदेशको नाम राख्नु सभ्यता र संस्कृतिको परिचय र पहिचान भएको बताउनुभयो । 
उहाले भन्नुभयो– जातीय नामाकरण भएन भन्ने नाममा एमालेका विरुद्ध कोशी प्रदेशमा अनेक आक्षेप लगाउने काम भएको थियो । इलामको निर्वाचनमा एमालेको जीतले एमाले माथि लगाइएको सबै आरोप र भ्रमलाई जनमतबाट चिर्ने काम भएको छ । 
इलामको जीत जातिवाद, अराजकता र पपुलिजम माथिको विजय भएको भनाई महासचिव पोखरेलले राख्नुभयो । उद्घाटन समारोहमा पार्टीका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।