detail-img

उपनिर्वाचनको परिणामबाट राष्ट्र निर्माणमा इँटा थप्ने काम भएको छः अध्यक्ष ओली

१८ बैशाख(२०८१), इलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणामले आजको मात्र होइन, भोलिको पनि सङ्केत गरेको बताउनुभएको छ ।
नेकपा (एमाले) इलामले मंगलबार आयोजना गरेको इलाम– २ को विजय सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अनेक प्रकारका भ्रमलाई चिर्दै नेपाली जनता नेकपा (एमाले)को पक्षमा उभिएको बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– यो चुनाव चुनाव मात्र होइन, राष्ट्र निर्माणमा एउटा इँटा थप्ने कुरा हो, एउटा सिँढी थप्ने कुरा हो ।
नेपालमा बस्नेहरूको सबैभन्दा पहिलो पहिचान नेपाली भएको बताउँदै अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै नेपालीको पहिचान र साझा गन्तव्य बन्नुपर्ने स्पष्ट पार्नुभयो । 
व्यक्तिगत होइन, सामूहिक पहिचानले मात्र देश अघि बढ्नेमा उहाँले जोड दिनुभयो । नेपालको पहिचान बहुजाति र बहुभाषा भएको र व्यक्तिगत पहिचानले कोही सफल हुन नसक्ने बताउनुभयो । 
अध्यक्ष ओलीले अबको २५ वर्षमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष हुने र त्यसबेलासम्ममा कुनै पनि नेपाली गरिब अवस्थामा नरहने भनाइ राख्नुभयो । 
इलामले एमालेका सुहाङलाई जिताएको भन्दै अब इलामको विकासको जिम्मा सुहाङले लिने र सुहाङको जिम्मा नेकपा (एमाले)  र आफूले लिने उहाँले स्पष्ट पार्नुभयो ।
एमालेले चुनावी कार्यक्रममा बोलेका कुरा पुरा गरेर छाड्ने स्पष्ट गर्दै अध्यक्ष ओलीले विकास, सुशासन, विदेश नीति कस्तो बनाउने भन्ने नीति र कार्यक्रम नेकपा (एमाले)सँग मात्र भएको बताउनुभयो । 
देशमा बलियो र निर्णायक राष्ट्रिय शक्ति आवश्यक रहेको हुँदा त्यसका लागि एमाले परिवर्तनका पक्षधरसँग मिलेर अघि बढ्न तयार रहेको उहाँले बताउनुभयो । यति बेला देशभक्त शक्तिको एकता आवश्यक रहेको अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो ।


इलामेली जनताको विश्वास र भरोसा मर्न दिने छैनः नेम्वाङ 
विजय सभामा बोल्दै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले इलामवासीको विश्वास र भरोसा मर्न नदिने बताउनुभयो ।
नेम्बाङले इलामका जनताले सुवास नेम्बाङ प्रति जुन भरोसा गरेका थिए त्यसलाई आफूले टुट्न नदिने बताउनुभयो । अग्रजहरूको योगदानको आफूले सधैँ कदर गर्ने नेम्बाङले बताउनुभयो । अहिलेको समय युवाको भए पनि अग्रजहरूको सम्मान गर्दै उहाँहरूको सल्लाह र आशिर्वाद लिएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले मतदाताको सीर नझुक्ने गरी काम गर्ने बाचा गर्नुभयो । नेम्वाङले भन्नुभयो– इमान र निष्ठापूर्वक काम गर्ने छु भन्ने कुरा म यहीँबाट बाचा पनि गर्दछु ।
अग्रजहरूले व्यवस्था परिवर्तन र संविधान लेखनको काम पुरा गर्नुभएको बताउँदै नेम्बाङले अब नयाँ पुस्ता अवस्था परिवर्तनको काममा लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेम्बाङले कुनै जात वा समुदाय विशेषको कुरा गर्ने होइन सारा नेपालीको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।