detail-img

अध्यक्ष ओलीद्वारा लगानी सम्मेलनलाई सम्बोधन– निर्धक्क भएर लगानी गर्न आग्रह 

१८ बैशाख (२०८१), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि लगानीको उचित वातावरण  बनाउन पार्टीले कानुनी सहजीकरण तथा सबै प्रकारका उचित व्यवस्था गर्न दृढ रहेको बताउनुभएको छ ।
तेस्रो लगानी सम्मेलनको समापनसत्रलाई सोमबार सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री ओलीले नेकपा (एमाले) स्वदेशी र विदेशी निजी क्षेत्रका लगानी प्रबर्द्धनका लागि संशोधित कानुनको प्रभावकारी कार्यान्वयन तथा उचित वातावरण सिर्जनाका पक्षमा दृढ रहेको स्पष्ट पार्नुभयो ।
उहाँले लगानी सम्मेलन नेपालका राजनीतिक दल र विकास साझेदारबीचको सहकार्य बढाउने एक उपयुक्त माध्यम भएको बताउनुभयो । 
सन् २०१९ मा आफ्नो नेतृत्वको सरकारको समयमा सम्पन्न दोस्रो लगानी सम्मेलनको स्मरण गर्दै अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा बमोजिम स्वदेशी र विदेशी निजी क्षेत्रको लगानीलाई अभिवृद्धि गर्ने ध्येय राखिएको जानकारी गराउनुभयो ।
त्यसबेला पनि विभिन्न कानुनमा संशोधन गरेको र श्रम विवादका विषय समाधान गरिएको बताउँदै यस सम्मेलनबाट आएका सुझावलाई कार्यान्वयन गराउन पनि भूमिका निर्वाह गर्ने भनाइ उहाँले राख्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– यो सरकार परिणाममूलक काम गर्ने स्पष्ट खाकासहित अगाडि बढेको छ । यसले सन् २०३० सम्ममा नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्ने लक्ष्य लिएको छ । त्यसैले निर्धक्क भएर नेपालको समृद्धिको यात्रामा सघाउन र लगानी गर्न आग्रह गर्दछु ।