detail-img

पूर्व राष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव’बाट सम्मानित

१० बैशाख (२०८१), काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘गणतन्त्र गौरव’बाट सम्मानित हुनुभएको छ ।  
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आज ललितपुरको गोदावरीमा आयोजित हीरक महोत्सव समारोहमा  पूर्व राष्ट्रपति भण्डारीले राजनीतिक तथा सामाजिक परिवर्तनका लागि गर्नुभएको सङ्घर्ष र योगदानको कदर गर्दै नेकपा (एमाले)द्वारा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो । 
अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान प्रदान गर्नुभयो । 
सो अवसरमा मन्तव्य राख्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले आफूलाई ‘गणतन्त्र गौरव’ सम्मान अर्पण गरेकामा नेकपा (एमाले)लाई धन्यवाद दिनुभयो । 
उहाँले यो सम्मान आफूलाई  व्यक्तिगत रूपमा गरिएको जस्तो देखिए पनि वास्तवमा यो लोकतान्त्रिक गणतन्त्रप्रतिको उच्च आस्था, विश्वास र सम्मानको प्रतीक भएको र यसबाट आफूलाई थप जिम्मेवारी बोध महसुस भएको बताउनुभयो ।
पूर्व राष्ट्रपति भण्डारीले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको ऐतिहासिक अवसर पारेर यो विशेष समारोह आयोजना गरेकोमा नेकपा (एमाले)लाई धन्यवाद दिँदै उहाँले कार्यक्रमको पूर्ण सफलताको कामना गर्नुभयो ।
पूर्व राष्ट्रपति भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो हीरक जयन्ती मनाइरहँदा यस आन्दोलनको गहन समीक्षासमेत गरिनु पर्दछ भन्ने आफ्नो धारणा रहेको बताउनुभयो । 
उहाँले भन्नुभयो– नेपाली कम्युनिष्ट आन्दोलनमा पटकपटक देखिने गरेको फुट र विभाजन साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकाङ्क्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्नेजस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्नुपर्छ ।
विसं २००६ मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले बितेका साढे सात दशकमा जहानियाँ राणा शासनको अन्त्य गर्न, निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय व्यवस्था बहाली गर्न र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न ऐतिहासिक भूमिका निर्वाह गरेको भनाइ पूर्व राष्ट्रपति भण्डारीले राख्नुभयो । 
उहाँले भन्नुभयो– नेपाली कम्युनिष्ट आन्दोलनले मुलुकको स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान प्रवद्र्धन गर्न, देश प्रेमको भावना जागृत गर्न तथा राष्ट्रियताको संवद्र्धन गर्न महत्वपूर्ण दायित्व बहन गर्दै आएको छ ।यसले जनताको जनजीविका, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सशक्त आवाज उठाएको छ र आफूले सरकार सञ्चालन गरेका बेला तथा संयुक्त सरकारमा सहभागी बनेका बेला राष्ट्र र जनताका जल्दाबल्दा विषयहरूलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्दै आएको छ, यसबाट कम्युनिष्ट आन्दोलनप्रति नेपाली जनताको आशा र भरोसा बढेको छ ।
समारोहमा पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल, डा.बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्रीद्वय रवि लामिछाने, उपेन्द्र यादव नेताहरू बामदेव गौतम, सीपी मैनाली लगायत ठूलो सङ्ख्यामा पार्टीका नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।