detail-img

नेपालको राजनीतिमा स्व. नेम्वाङको अविस्मरणीय भूमिका 

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख कमरेड सुवासचन्द्र नेम्वाङको अकल्पनीय, आकस्मिक र अत्यन्त दुःखद् निधनबाट आयोग स्तब्ध र मर्माहत भएको जनाएको छ । 
नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगको तर्फबाट स्व.नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आयोगका अध्यक्ष कमरेड केशव वडालले बिहीबार शोक वक्तव्य प्रकाशित गरी उपाध्यक्ष कमरेड नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका लागि अपूरणीय क्षति पुगेको जनाउनुभएको छ । 
शोक वक्तव्यमा भनिएको छ– राष्ट्रिय राजनीतिमा सहमतिका एक सूत्रधार, संविधान निर्माणका अगुवा, संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले) का उपाध्यक्ष नेम्वाङ सरल, मृदुभाषी, शालीन र राष्ट्रिय सहमतिका सर्जक बरिष्ठ राजनीतिज्ञ हुनुहुन्थ्यो । कसैका आँखामा पनि नबिझाउने सार्वजनिक छवि निर्माण गर्नुभएका प्रतिनिधि सभा सदस्य नेम्वाङ विभिन्न राजनीतिक दल र पक्षहरूसँग समन्वयका लागि विशिष्ट क्षमता राख्नुहुन्थ्यो । अत्यन्त जटिल र तनावपूर्ण अवस्थालाई पनि सहज तुल्याउँदै समस्याको निकास निकाल्न उहाँले धेरैपटक अविस्मरणीय भूमिका खेल्नुभएको थियो ।
नेपालको सामाजिक आर्थिक रुपान्तरणको अभियानमा अविचलित रूपमा उभिनुभएका कमरेड नेम्वाङको असामयिक देहावसानले उहाँको परिवार र नेकपा (एमाले) पार्टीपङ्क्तिका लागि मात्रै होइन, नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनकै लागि ठूलो पीडा र क्षति पुगेको उल्लेख गर्दै शोक वक्तव्यमा उल्लेख गरिएको छ– कमरेड सुवासचन्द्र नेम्वाङले राष्ट्र र जनताको हितमा पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँका असल गुणहरूबाट निरन्तर प्रेरणा लिइरहने सङ्कल्प गर्दछौं । शोकको यस घडीमा शोकाकूल परिवारमा यस पीडालाई सहन गर्नसक्ने सामर्थ्य हासिल हुन सकोस् भन्ने कामनाका साथ भावपूर्ण समवेदना व्यक्त गर्दछौं ।
प्रवासी नेपाली संघ, भारतद्वारा शोक प्रस्ताव पारित
यसैगरी, प्रवासी नेपाली संघ, भारत केन्द्रीय समितिले उपाध्यक्ष नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरकेो छ । 
केन्द्रीय समितिको भर्चुअल बैठक गरी नेकपा (एमाले) का उपाध्यक्ष, राष्ट्रसपुत नेम्वाङको असामयिक सिङ्गो प्रवासी नेपाली संघ, भारत शोकमग्न अवस्थामा पुगेको संघका अध्यक्ष नारायण प्रसाद होमागाई र सचिव डम्वर रावलले संयुक्त हस्ताक्षर गरी पार्टीलाई पठाउनुभएको पत्रमा उल्लेख गरिएको छ । 
उपाध्यक्ष नेम्वाङको निधनमा प्रवासी नेपाली संघ, भारतले आफ्ना संगठनका सम्पूर्ण राज्य र नगर समितिमा शोकसभा बैठक आयोजना गर्न निर्देशन गरेको छ ।