detail-img

पार्टीलाई पुनर्ताजगीका साथ अगाडि बढाउनुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सचेत नागरिक रहेको काठमाडौंमा प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले एक सिटमात्र जित्नु लज्जाको विषय भएको वताउनुभएको छ ।  
नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटीद्वारा मङ्गलबार आयोजित मिसन ग्रासरुट सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा (एमाले) जस्तो पार्टीले काठमाडौंमा एकसिट मात्र जित्नु, महानगरपालिकामा कममात्र जनप्रतिनिधिले जित्नु लज्जाजनक भएको वताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये १२ वटा वडामा मात्र नेकपा (एमाले) ले जित्नु राम्रो कुरा होइन, एमालेले अरूलाई बढार्नुपर्थ्यो । 
आफ्नो नेतृत्वमा भएका देश विकास र सामाजिक न्यायका क्षेत्रमा गरेका कामको चर्चा गर्दै अध्यक्ष ओलीले जनताको हित र देशको विकासमा नेकपा (एमाले) ले गरेका काम एमालेपङ्तीले जनतामा बुझाउन नसकेको वताउनुभयो ।


‘अरुले २० बर्षमा गर्न नसकेको काम हामीले तीन बर्षमा गर्यौं’ अध्यक्ष ओलीले प्रश्न गर्नुुभयो– म प्रधानमन्त्री हुनुअघि पटक पटक नाकाबन्दीको मार खाँदा पनि उत्तरी नाका किन खोलिएन ? हाम्रो जमीन हाम्रो हो भन्न किन सकिएन ?
‘जे होस,, आज नेकपा (एमाले) सबैभन्दा दर्विलो शक्तिका रूपमा, प्रमुख पार्टीको रूपमा रहेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो– दुःखको कुरा हामी सुदृढ भएको ठाउँमा पनि हारियो, कोही पनि साथीले जिताउन भूमिका नखेलेकोमा, निष्क्रिय बसेकोमा, सक्रिय नभएकोमा गर्व नगरे हुन्छ, गलत काम हो त्यो । आफैप्रति लज्जाबोध हुनुपर्छ । एमालेको कार्यकर्ता बेइमान हुँदैन, बेइमान छ भने उ एमालेको कार्यकर्ता हुँदैन । 
अध्यक्ष ओलीले नेकपा (एमाले) का नेताकार्यकर्ताले सत्य, निष्ठा, इमान र आदर्शलाई आफ्नो मूलमन्त्र बनाउनुपर्ने वताउनुभयो । 
उहाँले देशलाई सही बाटोमा अगाडि बढाउन नेकपा (एमाले) बाट मात्र सम्भव रहेको र नेकपा (एमाले) को काँधमा त्यो असाधारण अभिभारा रहेको वताउनुभयो । 
आगामी निर्वाचनमा हरेक वडामा ५१ प्रतिशत भन्दा बढी मतका साथ विजयी हुने गरी पार्टीलाई सुदृढ बनाउनुपर्ने वताउँदै अध्यक्ष ओलीले पार्टीलाई शुद्धीकरण गर्दै पुनर्ताजगीका साथ एकताबद्ध गरी अगाडि बनाउन आवश्यक छ भन्नुभयो ।  
उहाँले पार्टी सुदृढ, शुद्ध, एकीकृत र गतिशील हुनुपर्ने बताउँदै कार्यकर्तालाई यो र उ नभनी योग्यता, क्षमता, सक्रियता र योगदान हेरेर जिम्मेवारी दिइने स्पष्ट गर्नुभयो । 
अध्यक्ष ओलीले पार्टी सुदृढीकरणका लागि सञ्चालन गरिएको मिसन ग्रासरुटलाई कमिटी निर्माण, परिचालन, सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान जस्ता कामलाई जारी राखी निरन्तरता दिनुपर्ने वताउनुभयो । 
नयाँ पुस्तालाई विभिन्न सङ्गठनमार्फत पार्टीमा जोड्नुपर्ने उहाँले बताउनुभयो ।
राजनीतिक अस्थिरताका कारण देश अफ्ठयारो र असहज अवस्थाबाट गुज्रिँइरहेको वताउँदै अध्यक्ष ओलीले अर्थतन्त्रले सुधारको बाटो लिन नसके मुलुक असफल राष्ट्रमा परिणत हुने वताउनुभयो । 
नयाँ संविधानमा व्यवस्था गरिएको मिश्रित निर्वाचन प्रणालीतर्फ सङ्केत गर्दै अध्यक्ष ओलीले संविधान निर्माणका क्रममा अलिक जानीबुझिकन कुनै पनि राजनीतिक दलको सहज बहुमत आउन मुश्किल पर्ने कुरा थोपरिएको र आफूहरूलाई त्यो स्वीकार्नुपर्ने बाध्यता बनेको वताउनुभयो । 
अध्यक्ष ओलीले सोही कारण अहिले देश बनाउने कुनै नीति, गन्तव्य नभएका र चारतिर फर्केका मिलेर सरकार बनाउनुपर्ने अवस्था बनेको वताउनुभयो । यसो भएपछि देश नीतिहीनतामा जाने, सरकारमा जान जनताको म्याण्डेट नभएका, कुनै विचार र हैसियत नभएका पनि सरकारमा जाने अवस्था बनेको उहाँको भनाइ छ । 
सोही कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आठ÷दश वर्षदेखि पार्टी अव्यवस्थित भएकाले व्यवस्थित र सुदृढ बनाउन मिसन ग्रासरुट सञ्चालन गरिएको वताउँदै अन्य पार्टीबाट एमालेमा आउनुभएका साथीहरूलाई पनि पार्टीभित्र उचित ठाउँमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । 
मिसन ग्रासरुटले एउटा तरङ्ग ल्याएको र कार्यकर्ता र नागरिकमा उत्साह बढाएको भनाइ बरिष्ठ उपाध्यक्ष पोखरेलको राख्नुभयो । 
सरकारको कारण देश बरबादीको दिशातर्फ जान लागेको वताउँदै नेता पोखरेलले सरकारले नागरिक हितका कुनै पनि काम गर्न नसकेको, सरकार गैर जिम्मेवार, नालायक र निरीह बनेको वताउनुभयो । 
उहाँले नेकपा (एमाले) मा नयाँ युवालाई प्रवेश गराउन विशेष कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो । 
कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य तथा मिसन ग्रासरुटका लागि केन्द्रीय प्रतिनिधि आनन्द पोखरेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।