लोकतन्त्रमा दलहरू निश्चित वर्ग आधारमा खडा हुन्छन्, निश्चित दर्शन, सिद्धान्त र उद्देश्यमा सङ्गठित हुन्छन्। आफ्ना निश्चित पहिचान र मान्यतासहित क्रियाशील हुन्छन् । निर्वाचनमा सार्वभौम जनताले उनीहरूका उद्देश्य, कार्यक्रम र घोषणा हेरेर जनादेश दिन्छन् । सिद्धान्तहीन गठबन्धन निर्माण हुँदा र त्यही गठबन्धन निर्वाचनमा जाँदा जनताको स्वतन्त्र छनोटको अधिकार कुण्ठित हुन्छ । सङ्घीयताको खारेजी र प्रदेशहरूको वर्तमान सीमा परिवर्तन र सङ्ख्या बृद्धि जस्तो दुई विपरीत धारमा उभिएका दलहरूको यो गठबन्धनको आधार अवसरवाद बाहेक केही होइन । संसदीय व्यवस्था नस्वीकार्ने र संसदीय व्यवस्थालाई लोकतन्त्रको पर्याय ठान्ने दलहरूको यो जमघटका पछाडि सत्तास्वार्थ बाहेक केही छैन ।
निश्चय नै, कतिपय मुलुकमा निर्वाचन पूर्वको गठबन्धनका कतिपय अभ्यासहरू प्रचलित छन् । त्यहाँ निर्वाचनपूर्व नै केही साझा प्रतिबद्धता जनतासमक्ष प्रस्तुत गर्ने, जनताले त्यसकै आधारमा मत दिने र त्यसकै आधारमा निर्धारित कार्यकाल संयुक्त सरकार सञ्चालन गर्ने अभ्यास गरिएको हुन्छ । तर यथार्थमा यो गठबन्धन कुनै राजनीतिक स्थायित्वका लागि गरिएको अभ्यास नभएर बाँडीचुँडी खाने सत्ता स्वार्थमा टिकेको अवसरवादी गठबन्धन हो । भागबन्डा नमिल्नासाथ भोलि कुनै पनि बेला गठबन्धन भत्किने, नयाँ गठबन्धनको प्रयास हुने र राजनीतिमा फोहोरी र विकृत अभ्यासको पुनरावृत्ति हुने स्पष्ट छ । यो गठबन्धन खासमा राजनीतिक अस्थिरताको माध्यम बनिरहेको छ ।
हामीले दसौं राष्ट्रिय महाधिवेशनमा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादका आधार निर्माण गरौं’ भन्ने मूल नारा तय गरेका थियौं । कमरेड पुष्पलालले राष्ट्रिय स्वाधीनताको रक्षा, सामन्तवादको अन्त्य र समाजवाद स्थापनाको उद्देश्यका साथ, यो अभिभारा नेपाली काङ्ग्रेसलगायत त्यतिबेला क्रियाशील दलहरूबाट पूरा हुन नसक्ने निष्कर्षसहित एउटा ऐतिहासिक मिसनका साथ नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो । तर आन्दोलनको सत्तरी वर्ष व्यतित हुँदा आज आन्दोलनभित्रकै कतिपय समूहहरू कम्युनिष्ट आन्दोलनलाई कमजोर गरेर नेपाली काङ्ग्रेसलाई बलियो र पहिलो शक्ति बनाउने मिशनमा सङ्लग्न भएका छन् र उसको विजयमा खुशी मनाइरहेका छन् ।
मुलुककै नेतृत्वदायी शक्तिका रूपमा स्थापित कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत बनाएर नेपाली काङ्ग्रेससँग केही सिटका लागि उनीहरूबाट भइरहेको बार्गेनिङको दृश्य एकदमै बिडम्बनापूर्ण छ । आन्दोलनभित्र उत्पन्न यो अवसरवाद खतरनाक छ र यो प्रवृत्ति परास्त हुनैपर्छ । व्यक्ति या समूहहरूप्रति हाम्रो कुनै व्यक्तिगत आग्रह छैन, तर कम्युनिष्ट आन्दोलनरूपी वृक्ष ढाल्न बिंड बनेर प्रयोग भएको यो प्रवृत्तिको विरोध गरिनैपर्छ । अवसरवादका विरुद्ध निरन्तर वैचारिक, राजनीतिक सङ्घर्ष, अवसरवादको भ्रमबाट त्यहाँभित्रका इमान्दार कार्यकर्ताहरूलाई मुक्त गर्ने अभियान, कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी शक्तिको कमजोर सेवक होइन, मुलुककै मुख्य र नेतृत्वदायी शक्ति बनाउन बनाउन सकिन्छ । यही आत्मविश्वास र सङ्कल्प आजको आवश्यकता हो ।