detail-img

धानमा आत्मनिर्भर हुन सकिन्छः महासचिव पोखरेल

१५ असार (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल धानमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको बताउनुभएको छ । 
आइतबार २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०८२ को अवसरमा अखिल नेपाल किसान महासंघद्वारा चाँगुनारायण भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गतसाल नेपालको धानको उत्पादनमा नयाँ रेकर्ड नै कायम भएको बताउनुभयो । 
नेपालमा धानको उत्पादन बढाउन अलिकति ध्यान दिने हो भने धानमा आत्मनिर्भर हुने उहाँको विश्वास छ । 
भौतिक विकास र अन्य सामाजिक विकास जति गरे पनि मानिसलाई बाँच्नको लागि अन्न नै चाहिने महासचिव पोखरेलले बताउनुभयो । 
उहाँले भन्नुभयो– जतिसुकै सम्पन्न भए पनि, दरबारमा नै बसे पनि बाँच्नको लागि खाद्यान्न नै चाहिन्छ, त्यो खाद्यान्न उत्पादन गर्ने किसानलाई समाजले सम्मानित नागरिकको हैसियत नदिएसम्म कृषि पेसामा पढेलेखेका नयाँ पुस्ताको प्रवेश हुन सक्दैन, नयाँ पुस्तामा खेती प्रतिको रुचि घटेको छ । 
जति शिक्षित मान्छे त्यति कृषिमा सरिक हुनुपर्नेमा त्यो हुन नसकेको बताउँदै महासचिव पोखरेलले कृषिमा शिक्षित युवालाई जोड्नुपर्ने बताउनुभयो । यसको लागि शिक्षामा सुधार आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो । ‘अब स्कुल शिक्षादेखि नै कृषिमा जोड्ने अभियान चलाउन जरूरी छ’, उहाँले भन्नुभयो । 
आफूले गरेको उत्पादनको सही मूल्य र बजारको सुनिश्चितता नहुँदा धेरै मानिसहरू कृषिबाट विमुख हुने अवस्था रहेको उहाँले बताउनुभयो । कृषि प्रणालीलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्नतर्फ लाग्नुपर्ने धारणा महासचिव पोखरेलले राख्नु भयो ।