detail-img

बाग्मती प्रदेशस्तरीय प्रचार कार्यशाला शुरू

-एमाले हुँदासम्म आफ्नो स्वार्थ पूरा नहुने भएपछि राजवादी, मण्डले, आफूलाई कम्युनिष्ट भन्ने तर कम्युनिष्ट विरोधी, लोकप्रियतावादमा विश्वास गर्ने र नेपाललाई आफ्नो क्रिडास्थल बनाउन चाहने अन्तर्राष्ट्रिय शक्तिद्वारा सामूहिक रूपमा एमालेमाथि आक्रमण

-एमाले राष्ट्रियताको पक्षमा प्रतिबद्ध पार्टी भएकाले प्रतिक्रियावादीको आक्रमणको निशाना बनेको  छ , देश भक्तिको झण्डा बोकेको पार्टी र त्यसको नेतृत्वमाथि आक्रमण हुँदा पार्टीका नेताकार्यकर्ता मौन बस्न हुँदैन 


२२ जेठ (२०८२), काठमाडौं  । नेकपा (एमाले) बाग्मती प्रदेशस्तरीय प्रचार कार्यशाला बिहीबारबाट भक्तपुरमा शुरू भएको छ । 
नेकपा (एमाले) बाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागको आयोजनामा दुई दिने कार्यशाला सुरु भएको हो । 
कार्यशालालाई सम्बोधन गर्दै पार्टीका महासचिव शंकर पोखरेलले नेपालमा राजनीतिक दलले छोटो समयमा पनि देश विकासमा उल्लेख्य काम गरेको बताउनुभयो । 
नेपालका राजनीतिक दलमध्ये एमाले देशको समृद्धिका लागि सबैभन्दा बढी काम गर्ने पार्टी भएको र राम्रो काम गरेकै कारण एमालेमाथि आक्रमण भइरहेको भनाइ उहाँले राख्नुभयो ।  
राजवादी, मण्डले, आफूलाई कम्युनिष्ट भन्ने तर कम्युनिष्ट विरोधी, लोकप्रियतावादमा विश्वास गर्ने र नेपाललाई आफ्नो क्रिडास्थल बनाउन चाहने अन्तर्राष्ट्रिय शक्तिले सामूहिक रूपमा एमालेमाथि आक्रमण गरिरहेका महासचिव पोखरेलले बताउनुभयो । 
एमाले हुँदासम्म आफ्नो स्वार्थ पुरा नहुने देखेर उनीहरूले एमालेमाथि सामूहिक आक्रमणको प्रयास गरिरहेका उहाँको भनाइ छ ।  
एमालेले देशका लागि धेरै काम गरेको भए पनि अझै धेरै गर्नुपर्ने हुँदा त्यसको लागि एकल बहुमतको सकार आवश्यकता रहेको महासचिव पोखरेलले सुनाउनुभयो । 
उहाँले एमालेको एकल सरकार नबन्दासम्म एमालेको नीति जति राम्रो भए पनि नेतृत्व जतिसुकै सबल भए पनि त्यसलाई देशको समृद्धमा प्रयोग गर्न नसकिने भएकाले प्रचारको कामलाई सबल बनाई  मिसन–२०८४ लाई सफल बनाउने काममा लाग्न उहाँले आग्रह गर्नुभयो ।

कार्यशालामा सञ्चार  तथा सूचना प्रविधि मन्त्री एवं पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सबै पार्टी र नेताहरू एकै हुन् भन्ने गलत भाष्य निर्माण गर्न नहुने बताउनुभयो । 
उपमहासचिव गुरुङले एमाले अन्य पार्टी र एमालेका नेताहरू अन्य पार्टीका नेता भन्दा फरक रहेका र एमाले विचार र दृष्टिकोणमा सबैभन्दा अब्बल पार्टी भएको धारणा राख्नुभयो । 
एमाले नेपालमा सबैभन्दा उत्कृष्ट विचार र दृष्टिकोण भएको पार्टी हुँदाहुँदै पनि पार्टीभित्र देखिएको साङ्गठनिक अराजकता र दक्षिणपन्थी अवसरवादका कारण एमाले कमजोर बन्दै गएको उहाँको धारणा छ । 
पार्टीभित्र कम्युनिष्ट पार्टीका पाँच प्रमुख सिद्धान्त कमजोर हुँदा अराजकता र अवसरवाद मौलाउँदै गएको बताउँदै उपमहासचिव गुरुङले भन्नुभयो– त्यसैले हाम्रो कार्यशैली र आचरणमा सुधार हुन आवश्यक छ, जहाँ कमजोरी र अनुशासनहीनता देखिएको छ त्यसलाई हटाउनुुपर्छ । 
एमाले, कांग्रेस र माओवादीको एजेण्डा छुट्टिएन भन्ने आरोप अहिले जनस्तरबाट लागेको बताउँदै उहाँले त्यसमा भिन्नता देखिनुपर्ने बताउनुभयो । यसको लागि सबैभन्दा बढी पार्टीबाट निर्वाचित जनप्रतिनिधि जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

 त्यसैगरी, पार्टीका स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले एमालेसँग समृद्धिको बाटोमा अघि बढ्ने स्पष्ट दृष्टिकोण रहेको बताउनुभयो । 
एमाले जत्तिको स्पष्ट विचार र दृष्टिकोण नेपालका कुनै पनि राजनीतिक दलसँग नरहेको बताउँदै डा. भट्टराईले पार्टीको बिचार र दृष्टिकोण जस्ताको तस्तै जनताको बीचमा लैजानु नेता, कार्यकर्ताको दायित्व भएको बताउनुभयो । 
एमालेविरुद्ध झुटा आरोप लगाएर नेतृत्वमाथि आक्रमण भइरहेको हुँदा यो आक्रमण किन भइरहेको छ भन्ने कुरा जस्ताको तस्तै बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो । डा. भट्टराईले भन्नुभयो– समस्या कहाँ हो, समाधान त्यहीबाटै खोजिनुपर्छ, सबैभन्दा पहिलो समस्या पार्टीभित्रै छ, समाधान पनि पार्टीभित्रै खोजिनुपर्छ, बाहिरबाट भएको आक्रमणविरुद्ध कसरी जाने भन्ने कुरामा हाम्रो पार्टीपङ्क्ति जिम्मेवार भएर लाग्नुपर्छ । 
एमाले राष्ट्रियताको पक्षमा प्रतिबद्ध पार्टी भएकाले प्रतिक्रियावादीको आक्रमणको निशाना बनेको बताउँदै स्थायी कमिटी सदस्य भट्टराईले भन्नुभयो– देश भक्तिको झण्डा बोकेको पार्टी र त्यसको नेतृत्वमाथि आक्रमण हुँदा पार्टीका नेताकार्यकर्ता मौन बस्न हुँदैन । 
एमालेले सरकारको नेतृत्व गरिरहँदा मुलुकलाई घाटा हुने काम कहिल्यै नगरेको उल्लेख गर्दै एमालेले गरेका राम्रा कामको प्रचार नगर्ने प्रवृत्ति पार्टीपङ्क्तिभित्र रहेसम्म केही गर्न नसकिने उहाँले बताउनुभयो । 

केन्द्रीय सदस्य विष्णु रिजालले अहिले सूचना प्रवाह कम र व्यापार बढी भएको बताउनुभयो ।
नेपालका मूलधारका सञ्चारमाध्यमले समेत तथ्य कम प्रोपोगाण्डा बढी गर्ने गरेका बताउँदै उहाँले नेपाली पत्रकारितामा निष्पक्षता कम र मिसन बढी भएको बताउनुभयो । केन्द्रीय सदस्य रिजालले भन्नुभयो– अहिले नेपाली पत्रकारितामा सूचनाको प्रयोग कम, दुरुपयोग बढी हुने गरेको छ ।
उहाँले अहिले मिस इन्फरमेसन मात्र होइन डिस इन्फरमेसन प्रवाह गर्ने प्रयत्न हुने गरेको बताउनुभयो । सूचना कहिलेकाहीँ गलत हुनसक्ने बताउँदै तर अहिले एमालेका विरुद्ध सुनियोजित भ्रामक समाचार प्रवाह गर्ने गरिएको केन्द्रीय सदस्य रिजालको भनाइ छ । सामाजिक सञ्जालको प्रयोगले अहिले ज्ञान सस्तो भएको भए पनि त्यसको दुरुपयोग त्यतिकै बढेको उहाँले बताउनुभयो । सामाजिक सञ्जाल चुनौती र अवसर दुवै भएको बताउँदै सामाजिक सञ्जाललाई जनताको पक्षमा, देशको पक्षमा र पार्टीको पक्षमा उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
पार्टीको प्रदेश प्रचार योजनालाई प्रभावकारी रूपमा अघि बढाउन दुई दिने कार्यशाला आयोजना गरिएको प्रदेश कमिटी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयो । 
‘वर्तमान अवस्थाको समीक्षा गरेर प्रचारको रणनीति बनाउन कार्यशाला आयोजना गरिएको हो’, कार्यक्रममा बोल्दै उपसचिव लामाले जानकारी दिनुभयो । 
अहिले पार्टी र पार्टी नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेकाले त्यसलाई निस्तेज पार्ने योजना बनाएर अघि बढ्न कार्यशाला सहयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 
कार्यशालामा प्रदेश कमिटीका नेताहरू, प्रदेश प्रचार तथा प्रकाशन विभागका पदाधिकारी तथा सदस्य, बाग्मती प्रदेशभित्रका जिल्ला प्रचार विभागका प्रमुख एवं सचिवहरू, प्रेस चौतारी नेपालको बाग्मती प्रदेश कमिटीका पदाधिकारी, जिल्ला अध्यक्ष तथा सचिवहरू लगायतको सहभागिता रहेको छ । कार्यशाला शुक्रबारसम्म चल्ने छ ।