२० माघ (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जापानमा रहेका नेपाली तथा सबै गैर आवासीय नेपालीलाई स्वदेशमा लगानीका लागि आग्रह गर्नुभएको छ ।
जापानको टोकियोमा आइतबार प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानले आयोजना गरेको नेपालको आर्थिक विकासमा प्रवासी नेपालीहरूको लगानीका अवसर र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले उक्त आग्रह गर्नुभएको हो ।
महासचिव पोखरेलले विदेशमा कमाएको पुँजी नेपाल पठाएर मात्र देश नबन्ने बताउँदै जापानको प्रविधि, सीप र क्षमता देशको लागि प्रयोग गर्न आग्रह गर्नुभयो ।
शानको लागि लगानी हैन, स्वाभिमानको लागि लगानी गर्न एनआरएनहरूलाई उहाँले आग्रह गर्नु भयो ।
महासचिव पोखरेलले लगानी गर्ने घोषणा गरेर मात्र नहुने बताउँदै लगानी गर्न सक्नेहरूले दत्त–चित्त भएर लगानी गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
नेपालमा राजनीतिक स्थायित्व र देश बनाउन दुई ठुला पार्टी मिलेको बताउँदै उहाँले देशमा समस्या छ, लगानीको वातावरण छैन भन्ने भाष्य गलत रहेको बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– देश बनाउनको लागि हामी आएका हौँ, समस्या आउँदा भाग्दैनौँ, समस्या समाधान गरेर अघि बढ्ने हो, देश बनाएरै छाड्छौँ ।
राज्य कमजोर भयो भने देश नबन्ने बताउँदै देश बनाउन प्रधानमन्त्री अधिकार सम्पन्न हुनुपर्ने उहाँले बताउनुभयो । जापानका प्रधानमन्त्रीले त्यही अधिकार प्रयोग गरेर देश बनाउन सकेको उहाँको धारणा छ ।
राजनीतिक स्वतन्त्रता नभएको बेला राजनीतिक दल खोल्ने र जनता सङ्गठित गर्ने कुराको महत्व हुने भए पनि लोकतन्त्रमा आइसकेपछि धेरै दल भन्दा पनि बलिया दल आवश्यक पर्ने बताउँदै बलिया राजनीतिक दलले मात्र स्थिरता, सुशासन र समृद्धिका लागि काम गर्ने महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।
‘तानाशाही शासन व्यवस्थामा पार्टी वा संस्था खोल्ने कुरा बहादुरी थियो, अहिले संविधानले नै स्वतन्त्रता दिएको छ’, महासचिव पोखरेलले अब संस्था खोल्ने बहादुरी होइन, संस्थालाई स्वीकार्य बनाउने कुरा मुख्य भएको स्पष्ट गर्नुभयो ।
उहाँले अब समय व्यवस्थापनमा ध्यान दिन नसक्ने हो भने अघि बढ्न नसकिने स्पष्ट गर्दै पछौटेपनको प्रमुख कारण समयलाई पछ्याउन नसक्नु भएको र विकास र समृद्धिका लागि समयलाई पछ्याउन जरुरी रहेको बताउनुभयो ।
जापानी नागरिकहरू समयको पालना गरेर समृद्ध भएका आफूले अनुभव गरेको तर त्यस्तो मुलुकमा बस्ने नेपालीहरू समयप्रति सचेत नभएको उहाँले स्पष्ट पार्नु भयो । काम गर्ने मानिसलाई सम्मान र अनुशासनको कुरा नेपालीले जापानबाट सिक्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य सूर्यप्रसाद पाठकले परदेशमा दुःखले कमाएको पुँजी र प्रविधिको उचित व्यवस्थापन गर्न आग्रह गर्नु भयो ।
अन्तरक्रिया कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी, एनआरएनए आइसिसी उपाध्यक्ष रोविन शेरचन, एनआरएनए जापानका अध्यक्ष नवीन निउरे लगायतको उपस्थिति रहको थियो । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानका अध्यक्ष कुलचन्द्र खरेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।