detail-img

ऐतिहासिक प्रथम महाधिवेशन प्रतिनिधि परिषद् बैठक सम्पन्न

पूर्व राष्ट्रपति भण्डारीलाई गणतन्त्र गौरव सम्मान 
९ बैशाख (२०८१), काठमाडौं । नेकपा (एमाले)को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठक राजनीतिक तथा सांगठानिक प्रतिवेदन, केन्द्रीय निकायका प्रतिवेदन, विभिन्न समसामयिक प्रस्ताव पारित गर्दै आज सम्पन्न भएको छ । 
ललितपुरको गोदावरीमा हिजो बैशाख ८ गतेदेखि शुरु भएको परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  
बैठकले राजनीतिक तथा सांगठानिक प्रतिवेदनका साथै  केन्द्रीय निकायहरू सल्लाहकार परिषद्, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।  
बैठकको पहिलो दिन प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए भने आज दोस्रो दिन छ वटा समूहमा प्रतिवेदनहरू र पार्टीको संगठन सुदृढीकरण सम्बन्धी विषयहरूमा छलफल गरी आवश्यक सुझाव सङ्कलन गरिएको थियो । 
परिषद् बैठकले पार्टी स्थापनाको ७५ बर्ष पुरा भएको अवसरमा भोलि आयोजना गरिने विशेष समारोहमा ‘गणतन्त्र गौरव’ सम्मानबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको छ । 
यसैगरी आजको बैठकमा पार्टीले सम्पन्न गरेको झुलाघाट– चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा विशेषका रूपमा प्रकाशित ‘नवयुग’ विशेष अङ्क र सोही यात्राका महत्वपूर्ण तस्वीरहरूको सङ्गालो ‘मुहार फेर्ने यात्रा’ विमोचन गरिएको छ । 
परिषद् बैठकको दोस्रो दिनको अध्यक्षता गर्नुभएका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठकको समापन गर्दै एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न पार्टीलाई योजनावद्ध ढङ्गले अगाडि बढाउन जरूरी रहेको बताउनुभयो । उहाँले परिषद् बैठकका निर्णय, निश्कर्ष र पारित प्रस्तावहरूका आधारमा पार्टी अगाडि बढ्ने बताउनुभयो ।
महासचिव शंकर पोखरेलले सञ्चालन गर्नुभएको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले केही महत्वपूर्ण निर्णयहरू प्रस्तुत गर्नुभएको थियो भने उपमहासचिव विष्णु रिमालले समसामयिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
बैठकले १४ बुँदामा विभिन्न समसामयिक प्रस्तावहरू पारित गरेको छ । पारित प्रस्ताव यसप्रकार छन्ः
१. यो बैठक विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग र मिथ्याप्रचारका बाढीहरुलाई चिर्दै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीका रुपमा पुनस्र्थापित गर्न हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्ने सङ्कल्प गर्दछ । अत्यन्त असहज र प्रतिकूल अवस्थामा पार्टीलाई यस बिन्दुसम्म ल्याइपु¥याउन कुशलतापूर्वक अगुवाइ गर्ने अध्यक्ष कमरेड केपी शर्मा ओली लगायत दसौं महाधिवेशनबाट निर्वाचित सिङ्गो नेतृत्व पङ्क्तिलाई यो बैठक विशेष धन्यवाद ज्ञापन गर्दछ । आगामी दिनमा पार्टीलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपमा अझ एकताबद्ध र सुदुढ बनाउँदै निर्णायक राष्ट्रिय शक्ति निर्माणमा योगदान गर्न सबै कमरेडहरुलाई हार्दिक आह्वान गर्दछ ।  
२. यो बैठक २०८० फागुन २१ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा, जसपा र नेकपा (एस) का बिचमा नयाँ समीकरणको निर्माण गर्ने समझदारी गर्दै नयाँ सत्ता सहकार्य प्रारम्भ भएकोमा सन्तुष्टि व्यक्त गर्दै यस सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गर्दछ । पाँच दलले जारी गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पले आजका मुख्य समस्याहरुलाई संवोधन गर्न र अगाडिका लागि मार्गदर्शन गर्न सक्ने निष्कर्षका साथ यसको पूर्ण, तालिकाबद्ध र प्रभावकारी कार्यान्वयनका लागि आग्रह गर्दछ । यस सहकार्यलाई कमजोर गर्ने कुनै पनि काम नगर्न, मुलुकलाई थप अस्थिरता र अन्यौलतर्फ धकेल्ने कामप्रति सजग रहन र राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने काम कतैबाट पनि हुन नदिन सत्ता समीकरणका सबै राजनीतिक दललाई आह्वान गर्दछ ।
३. विगत केही वर्षयता गहिरिएको आर्थिक मन्दी, भ्रष्टाचार र कुशासन, राज्यसञ्चालनमा व्याप्त बेथिति एवं मूल्यमान्यताहरुको भयावह स्खलनका कारणले समाजमा चौतर्फी नैराश्य बढेको छ । रोजगारीको अभाव र भविष्यप्रतिको अन्यौलले युवाहरुको विदेश गमन अत्यधिक बढेको छ । यस्तो स्थितिले समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षाको मार्गमा थप चुनौती पैदा गर्दछ । यो बैठक आर्थिक शीथिलता अन्त्य गर्दै अर्थतन्त्रलाई चलायमान गर्न, निजी क्षेत्रले भोग्नु परेका समस्याको तत्काल समाधान गर्दै व्यवसायीहरुमा आत्मविश्वास र भरोसा जागृत गर्न, युवाहरुमा यो देश बन्छ र देश हामीले नै बनाउँछौं भन्ने सकारात्मक उर्जा र मनोबल पैदा गर्न विशेष योजना निर्माण गरी अगाडि बढ्न वर्तमान सरकारलाई आह्वान गर्दछ ।
४. यो बैठक भ्रष्टाचार, अनियमितता, तस्करी र अवैध स्रोतको सञ्चयन, सार्वजनिक सम्पत्तिको दोहन तथा राज्यकोषको अपचलनले समग्र राज्यलाई नै सङ्क्रमित तुल्याएको छ । भ्रष्टहरु दण्डित नहुँदा समाजमै प्रदूषण फैलिएको छ । यो बैठक भ्रष्टाचारका विरुद्ध सम्झौताहीन ढङ्गले प्रस्तुत हुन, यसका विरुद्ध जेहाद छेड्न  र कानुनका नजरमा सबै बराबर छन् भन्ने कुरा व्यवहारबाटै प्रमाणित गर्न सरकारसँग माग गर्दछ । भ्रष्टाचारका विरुद्धको यस अभियानमा हाम्रो पार्टी बिना मुलाहिजा प्रस्तुत हुने प्रतिबद्धता समेत व्यक्त गर्दछ ।
५. देशका केही सहकारीहरुमा गंभीर समस्या र बेथितिहरु देखा परेका छन् । जनताले दुःख गरेर जम्मा गरेको अर्बौंको रकम सीमित व्यक्तिले हिनामिना गरेर फरार हुने र बचतकर्ताहरु सडकमा अलपत्र पर्ने स्थिति पैदा भएको छ । लघुबित्तका ऋणिहरु पनि समस्यामा परेका छन् । मिटरब्याज पीडितहरुका समस्या पनि पूर्ण रुपले समाधान भएका छैनन् । यो बैठक केही सहकारीमा पैदा भएका यस प्रकारका गंभीर समस्या र सर्वसाधारणको रकम अपचलनका गंभीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन र बचतकर्ताहरुको रकम सुरक्षित फिर्ता गराउन सरकारसँग माग गर्दछ । मिटरब्याज पीडितहरु र लघुवित्तका ऋणिहरुका समस्या समाधानमा गंभीर हुन पनि सरकारसँग माग गर्दछ । सहकारीमा पैदा भएका केही समस्यालाई लिएर सहकारीकै विरुद्ध भइरहेका गलत प्रचारहरु उचित होइनन् । संविधानले सहकारीलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा ग्रहण गरेको छ । यस अनुरुप देशैभरिका सहकारीहरुलाई उत्पादन र वितरणमा केन्द्रित हुन आवश्यक वातावरण निर्माणका लागि सरकारको ध्यानाकर्षण गर्दछ ।
६. विगत केही समय यता दैनिक उपभोग्य वस्तुहरुको मूल्य अचाक्ली बढेको छ । दैनिक ज्यालादारी गरेर खानु पर्ने र न्यून आय भएका सर्वसाधारणको जीवन यसबाट अत्यधिक प्रभावित भएको छ ।  नियोजित ढङ्गले बढाइएको महङ्गी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न, कतिपय वस्तु र सेवामा रहेको एकाधिकार अन्त्य गर्न र सुलभ पसल लगायतका माध्यमबाट सर्वसाधारण नागरिकहरुलाई सहुलियत दरले दैनिक उपभोग्य वस्तु उपलव्ध गराउने प्रबन्ध गर्न यो बैठक सरकारको ध्यानाकर्षण गर्दछ ।
७. यो बैठक यही वैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बन्नुभएका इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का सुहाङ नेम्बाङ तथा बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का दमन भण्डारीलाई विजयी बनाउन त्यहाँका मतदाताहरुलाई हार्दिक अपिल गर्दछ । निर्वाचनमा सम्पूर्ण शक्तिका साथ केन्द्रित हुन सम्बन्धित पार्टी कमिटी र जनसङ्गठनहरुलाई आह्वान गर्दै हाम्रो उम्मेदवारीलाई समर्थन गर्नु हुने राजनीतिक दलहरुलाई धन्यवाद ज्ञापन गर्दछ ।
८. यो बैठक हालै वनडढेलो र आगलागीले गुल्मी, अर्घाखाँची, रुपन्देही, नवलपरासी, डोल्पा, पाल्पा, स्याङ्जा कैलाली लगायत मुलुकका धेरै भूभागमा ठूलो क्षति पु¥याएकोमा दुःख व्यक्त गर्दैै विपद् व्यवस्थापनको प्रभावकारी प्रतिकार्यका लागि सरकारको ध्यानाकर्षण गर्दछ र पीडितहरुलाई तत्काल राहत उपलव्ध गराउन र घरबार गुमाएकाहरुको पुनस्र्थापनाका लागि आवश्यक व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।
९. यो बैठक रुस–युक्रेन युद्ध निरन्तर लम्बिइरहेको यसले मानवीय सङ्कट बढाइरहेको, खाद्यान्न तथा इन्धनको आपूर्ति शृङ्खलामा असर पारेको, विश्व अर्थतन्त्रमै प्रतिकूल प्रभाव बढेको तथा क्षेत्रीय द्वन्द्वको जोखिम समेत बढाएकोमा चासो व्यक्त गर्दछ । रुस–युक्रेन युद्धबिच तत्काल युद्धविराम गर्दै युद्धको अन्त्य गर्न्, दुबै देश आफ्ना सार्वभौम सीमाभित्र शान्तिपूर्ण रुपमा रहने कुराको सुनिश्चितता गर्न र त्यस भूभागलाई शक्ति राष्ट्रहरुको बल प्रदर्शनको थलो र क्षेत्रीय द्वन्द्वको केन्द्रभाग नबनाउन माग गर्दछ । 
१०. यस युद्धमा विभिन्न कारणले नेपाली युवाहरु समेत फस्दै गएकोप्रति गंभीर चिन्ता व्यक्त गर्दछ । रुसी सेनामा गैरकानुनी रुपा भर्ती भई युद्ध मैदानमा पुगेका युवाहरुलाई कुटनीतिक माध्यमबाट फिर्ता गराउन र युक्रेनी सेनाहरुको बन्धक बनेकाहरुलाई तत्काल रिहा गराउन आवश्यक पहलका लागि सरकारसँग माग गर्दछ । 
११. ७ अक्टोबर २०२३ पछि हमास लडाकूहरु र इजरायल बिचको आक्रमण र प्रत्याक्रमणमा परी १२ सय भन्दा इजरायलीहरु र ३२ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकहरु मारिएका छन् । संयुक्त राष्ट्र सङ्घका सहायताकर्मीहरुको हत्या, अस्पतालमाथि बमबारी एवं खाद्यान्न र पानीसमेत वितरण अवरुद्ध गर्ने अमानवीय कामहरु भएका छन् । गाजा क्षेत्र भोकमरी, अभाव र मानवीय सङ्कटमा डुबेको छ । क्षेत्रीय युद्धको आशङ्का बढेको छ ।
हामी जुनसुकै स्वरुप, आवरण र नाममा गरिने आतङ्कवादी क्रियाकलापको दृढ विरोध गर्दछौं । प्यालेस्टाइनी जनताको स्वतन्त्र र सार्वभौम राज्यको मागप्रति दृढ समर्थन गर्दछौं । स्वीकृत अन्तर्राष्ट्रिय सीमाभित्र इजरायल र प्यालेस्टाइन शान्तिपूर्वक रहन पाउनु पर्छ भन्ने संयुक्त राष्ट्र सङ्घको ‘दुई राज्य समाधान’ को प्रस्तावलाई समर्थन गर्छौं । त्यस क्षेत्रमा तत्काल युद्धविराम गर्न, नेपाली युवा विपिन जोशी सहित सबै बन्धकहरु रिहा गर्न, मानवीय सहायताको आपूर्तिलाई निर्वाध सञ्चालन गर्न र हत्याहिंसाको अमानवीय शृङ्खला तत्काल अन्त्य गर्न माग गर्दछौं ।
१२. यो बैठक म्यानमारका जनताले लोकतन्त्रको प्राप्तिका लागि गरेको बलिदानीपूर्ण संघर्षप्रति एकवद्धता प्रकट गर्दछ र म्यान्मारमा लोकतन्त्रको तत्काल पुनस्र्थापना हुने विश्वास व्यक्त गर्दछ ।
शोक प्रस्ताव
१३. यो बैठक पार्टी उपाध्यक्ष, संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख कमरेड सुवासचन्द्र नेम्बाङको निधनप्रति गहिरो दुख व्यक्त गर्दछ । उहाँको निधन हाम्रो पार्टीका लागि मात्रै नभएर मुलुककै लागि अपूरणीय क्षतिको विषय हो । कमरेड सुवाससहित यस बिचमा निधन हुनुभएका पोलिटब्युरो सदस्य बालकृष्ण ढुङ्गेल, लेखा आयोगका सदस्य खम्ब खत्री, केन्द्रीय सल्लाहकार परिषद् सदस्यहरु इन्दिरा चापागाईं, भोजराज ढुंगेल, रामबहादुर दानी, रामचन्द्र चापागाईं, धर्मनाथ यादव, महेश चौधरी र डा. ऋतुराज गड्तौला र कालिकोटबाट निर्वाचित पूर्व सांसद यज्ञराज न्यौपाने, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य ऐना गिरी र रामचन्द्र थपलिया लगायत कमरेडहरुप्रति यो बैठक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
१४. अन्त्यमा, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम वैठक गोदावरीको सनराईज हलमा सफलपूर्वक सम्पन्न गर्न व्यवस्थापन कमिटी लगायत हलव्यवस्थापन, यातायात, शान्तिसुरक्षा, स्वयम्सेवा, कार्यशाला सहजीकरण, कला प्रदर्शनी र खानपानमा सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।