केपी शर्मा ओली, प्रधानमन्त्री एवं अध्यक्ष, नेकपा (एमाले)
आज एउटा खुशीको दिन, बलिदानको स्मरण गर्ने, सङ्घर्षको स्मरण गर्ने र सफलताको उत्सव मनाउने दिन हो । राजालाई जनताले शान्तिपूर्ण आन्दोलनबाट पराजित गरेर आफ्ना अधिकारहरू फिर्ता लिएर आफूलाई सार्वभौम बनाएको दिन, विजयको दिन हो । त्यसैकारण आज यो विजय उत्सवको रूपमा, युुवाहरूको एउटा चाडको रूपमा कन्सर्टसहित मनाउने आयोजना भएको छ । म खुशी व्यक्त गर्न चाहन्छु । यस अवसरमा यो सम्पूर्ण नेपालीको खुशी, सबैसँग साट्न चाहन्छु । हामीले सदियौं होइन, हजारौं वर्षसम्म अधिकारविहीन भएर रहनु पर्यो । पछिल्लो समयमा पनि २४० वर्ष राज शाहीको दमनचक्रमा सहेर बस्नु पर्यो । १०४ वर्षभित्र राणा शासन घुसेर दोहोरो चेपाइमा, थिचाइमा नेपाली जनता पर्न पर्यो र भोग्न पर्यो । अधिकारविहीन भएर पढ्न र लेख्न नपाइने, बोल्न नपाइने, विकासको बाटोमा दुनियाँ कहाँ पुगिसक्यो, हामी जहाँको त्यही रहनुपर्ने, हामी भोकभोकै पर्न पर्ने, विकासका सबै सम्भावनामा ढोका लाग्ने, विकास खाली उनीहरूको हुने, जनताको नहुने त्यस स्थितिबाट हामीले लामो समय गुज्रिनु पर्यो ।
हामीले लोकतन्त्र ल्याएपछि पनि पटक पटक हाम्रा अधिकारहरू राजशाहीले खोस्ने, फेरि देशलाई पछाडि फर्काएर अन्धकार युगतिर धकेल्ने कामहरू पटक पटक भए । तिनीहरूका विरुद्ध हामीले बलिदानीपूर्ण सङ्घर्ष गर्यौं, अनेक जेलनेल, भूमिगत, निर्वासन, अनेक प्रकारका यातना र कठिनाइहरू झेल्दै सङ्घर्ष अगाडि बढायौं र सफलतापूर्वक आज यस ठाउँमा आइपुगेका छौं ।
कुलघरानामा जन्मिँदै श्रेष्ठता, पाखण्डी सिद्धान्त
म युवा साथीहरूलाई भन्न चाहन्छु, अब तपाईंहरूले देशलाई अगाडि बढाउनुपर्ने छ । अब देश कस्तो बनाउने, जन्मिँदै श्रेष्ठताको कुनै वैज्ञानिक आधार नभएको पाखण्डी सिद्धान्त, कुलघरानाका आधारमा, जन्मका आधारमा श्रेष्ठता भनेर चलाइने वैज्ञानिक आधार कुनै नभएको अवैज्ञानिक पाखण्डी सिद्धान्तका आधारमा शासन गर्न खोज्ने, सामन्ती युगलाई फेरि फर्काउन खोज्ने आवाज पनि कताकता सुनिन थालेका छन् । त्यस नाममा देशमा लोकतन्त्र नमान्ने, संविधान नमान्ने, जनताको बलिदानको अपमान गर्ने, सङ्घर्षको अपमान गर्ने, सफलतालाई अस्वीकार गर्ने र त्यसलाई मजाक उडाउने काम भएको छ ।
प्रतिगमनतर्फ देशलाई लानका लागि जनताको हत्या गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने, व्यक्तिका घरहरू, पार्टीका कार्यालयहरू, त्यसै गरेर व्यापारिक प्रतिष्ठानहरू अथवा मिडियाका कार्यालयहरू, सञ्चार गृहहरूमाथि आक्रमण हुने अथवा एउटा जङ्गली होइन, राक्षसी प्रवृत्ति देखाएर फेरि जनतामाथि यिनीहरूले कस्तो शासन थोपर्न खोजेका छन् ?, कुन तानाशाही ल्याउन खोजेका छन् ? भन्ने कुरा स्पष्ट देखाएका छन् । अब युवाहरूले यस्ता कुराहरूलाई देखिनेगरी, सुनिनेगरी, बुझिनेगरी अस्वीकार गर्न आँट गर्नु पर्दछ । यस्ता कुराहरूलाई अस्वीकार गर्दै देशको, लोकतन्त्रको, संविधानको रक्षा गर्ने र देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउने काम गर्नु पर्दछ ।
त्यसैकारण हामीले भनेका छौं– समृद्ध नेपाल, सुखी नेपाली । लोकतन्त्रमा मात्रै देश समृद्धितर्फ अगाडि बढ्न सक्छ भन्ने कुरा विगत ३० वर्षको इतिहासले नै देखाएको छ । ३० वर्ष अगाडि कस्तो अवस्थामा थियो ? ३० वर्ष यता विकासले देशव्यापी रूपमा कुन गति लिएको छ, पूर्वाधारका क्षेत्र होउन् कि अरु क्षेत्र होउन्, स्वास्थ्य अथवा सामाजिक क्षेत्रमा जनतालाई माया गर्ने प्रणाली कुन रहेछ ?, कसले गर्दो रहेछ भन्ने कुरा ।
हामीले ज्येष्ठ नागरिक भत्तादेखि सडकका बालबालिकाको व्यवस्था गर्नेदेखि, सडक मानवको व्यवस्था गर्नेदेखि सडकमा भीखमङ्गाहरू रहन नपाउने, भीखमङ्गा कोही हुनु पर्दैन, कसैले रहरले गलत ढङ्गले भीखमङ्गा हुन खोज्छ भने त्यस्ता कुराहरूलाई अस्वीकार गर्ने ती कामहरू हामीले गरेका छौं ।
युवा समुदाय अत्यन्त सजगताकासाथ अगाडि बढ्नुपर्ने
आज विभिन्न तत्वहरूले भडकाउपूर्ण कुराहरू गर्ने, गलत बाटोमा र अराजकतातिर देशलाई धकेल्न खोज्ने, अनुुशासनहिनतातर्फ देशलाई धकेल्न खोज्ने र युवा पङ्क्तिलाई वर्गेल्याउन खोज्ने प्रयास भइरहेका छन् । युवा आफ्नो साथमा छ भनेर धाक लगाउने र भ्रम छर्ने त्यस प्रकारका प्रयासहरू भइराखेका छन् । केही मानिसहरूलाई विभिन्न सामाजिक सञ्जालमा खटाएर, केही पेड मान्छेहरूबाट देशभरि भ्रम फिजाउने प्रयास भइराखेको छ । त्यसकारण हामी यस्ता कुराहरूमा सचेत र सजग हुन आवश्यक छ, जरूरी छ । म हाम्रा युवाहरूलाई आग्रह गर्न चाहन्छु, अबको समय भनेको हामी आफैँ सचेत भएर, के कुरालाई अस्वीकार गर्ने, के कुरालाई स्वीकार गर्ने र अगाडि बढाउने छुट्याउन सक्नु पर्दछ । हामीले पहिले पनि भनेका थियौं, अबको समय भनेको देशमा युवाको समय हो र युवाका लागि हामीले शिक्षाको प्रबन्ध, आम्दानीको प्रबन्ध अथवा उद्यमशीलता र रोजगारीको व्यवस्थाको बाटोबाट अगाडि बढ्नु पर्दछ । युवालाई शारीरिक र मानिसक रूपबाट स्वस्थ राख्नु पर्दछ । अर्थात्, हामीले भनेका थियौं, शिक्षा, ज्ञान, सिकाइ एउटै कुरा हो । सिकाइ, कमाइ र दबाइ अर्थात् शिक्षा, उद्यमशीलता र स्वास्थ्य यी कुराहरूलाई अगाडि बढाउने । यसका लागि हामी हरेकले सचेत हुनुपर्छ । आज युवालाई अनेक प्रकारले गलत चिजमा फसाउन खोज्ने, नसामा फसाउन खोज्ने, ड्रग्समा फसाउन खोज्ने यस्ता प्रयासहरू भइराखेका छन् । यसलाई हामीले अस्वीकार गर्न सक्नु पर्दछ र हामी नसामा होइन, देश बनाउने एउटा सचेत सङ्कल्पका साथ अगाडि बढ्नु पर्दछ । यसका निम्ति युवा समुदाय अत्यन्त सजगताकासाथ अगाडि बढ्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
विदेशको झिलिमिली होइन, नेपाल झिलिमिली र सुन्दर बनाउन सकिन्छ
युवा समुदायको १९ दिन लामो लगातारको सङ्घर्षले राजतन्त्रलाई विघठित संसद पुनर्स्थापना गर्ने, खोसिएका जनअधिकार फिर्ता गर्ने र आफू फेरि अधिकारबाट, प्रत्यक्ष शासनबाट, अधिनायकबाट पछाडि फर्किन बाध्य बनाएको दिन हो वैशाख ११ । त्यसैकारण आज हामी सम्झिरहेका छौं र यस दिनलाई आज उत्सवको रूपमा मनाइरहेका छौं । यस दिनलाई हामी एउटा विजयको स्मरण, हाम्रो सौर्यको स्मरण गरिरहेका छौं । हामीले बिना द्विविधा विभिन्न प्रकारका भ्रमहरूलाई आफैँले चिरेर, आफैँ सक्रिय भएर हाम्रो देश हामीले बचाउनु पर्दछ । हाम्रो देश हामीले बनाउनु पर्दछ । विदेश पलायन हुने प्रवृत्तितर्फ ढल्किने होइन, विदेशका झिलिमिलितर्फ होइन, यसै देशलाई हामीले झिलिमिलि मात्रै होइन, त्योभन्दा अझै सुुन्दर बनाउन सक्छौं, अझ राम्रो बनाउन सक्छौं, सम्पन्न बनाउन सक्छौं । ३० वर्षभित्र लोकतन्त्रमा पनि केही उतारचढावहरू भए, केही गलत प्रवृत्तिहरू देखा परे, केही गलत प्रवृत्तिहरू पनि झाँङ्गिए, तिनीहरूले भ्रम छरे र देशले केही अलमल भोग्नु पर्यो । तर, ती कुराहरूलाई अब छिचोल्दै हामी एउटा स्पष्ट बाटो र दृष्टिकोणका साथ अगाडि बढिरहेका छौं । त्यसकारण म आग्रह गर्न चाहन्छु, अलमलका साथ होइन, भ्रममा होइन, स्पष्ट दृष्टिकोणका साथ आजको युवाले अगाडि बढ्न जरूरी छ । मैले विश्वास लिएको छु, देश बदल्ने र दुनियाँ बदल्ने तागत जनतामा हुन्छ ।
बच्चाबच्ची, बुढाबुढी पनि जनता नै हुन् तर उनीहरूले धेरै गर्न सक्दैनन्, युवा उमेरमा हो गर्ने । त्यसकारण म युवाहरूलाई भन्न चाहन्छु, तपाईंहरूले देश बनाउने सङ्कल्प गर्नु पर्दछ, सङ्कल्पलाई साकार रूप दिनुपर्दछ । यदि आवश्यकता पर्छ भने सङ्घर्षको मैदानमा उत्रिन तयार हुनुपर्दछ र हाम्रा अग्रजहरूले, हाम्रा पुर्खाहरूले जुन सङ्घर्ष गरेर देशलाई यहाँसम्म ल्याएका छन् । आज ती उपलब्धिहरूको रक्षा गर्दै अगाडि बढ्ने कुरामा आजका युवा पुस्ताको सङ्कल्प र त्यसका निम्तिको सक्रिय प्रयास जरूरी छ । बिना सङ्कल्प र बिना सक्रिय प्रयास हामी अगाडि जान सक्दैनौं । यसका निम्ति म युवाहरूलाई ढुक्क रहन आग्रह गर्न चाहन्छु । कुनै भ्रममा नपर्नुस् ।
विदेशी दलालहरू एमालेसँग भयभित छन्
हामीले राष्ट्रियताको स्पष्ट अडान लिएको हुनाले विदेशका दलाल तत्वहरू नेकपा (एमाले)का विरुद्ध खनिएका छन् । यत्तिकै होइन, हाम्रो राष्ट्रवादी अडानका कारण, दृष्टिकोणका कारण र हाम्रो सङ्घर्षका कारण, हाम्रो जनपक्षीयताको कारण, लोकतान्त्रिक अभ्यास, आचरण, दृष्टिकोण र देशलाई अगाडि बढाउने स्पष्ट नीतिका कारण विभिन्न प्रकारका शक्तिहरू हामीसँग भयभित भएका छन् र दिनैपिच्छे अनेक प्रकारका भ्रम फिजाउन खोजेका छन् ।
हामीले खोजेको लोकतान्त्रिक स्थिरता हो
हरेक कुरामा, हरेक दिन सरकार जान्छ, सरकार जान्छ...भनेर भन्न थालेका छन् । लोकतन्त्रमा लामो सरकार पाँच वर्षका लागि बन्छ । अनि यो तानाशाही त होइन, अधिनायकवादी व्यवस्था त होइन कि ५० वर्षका लागि कसैको वंशको शासन हुन्छ, सय वर्षका लागि हुन्छ, २५० वर्षका लागि हुन्छ, १०४ वर्षका लागि हुन्छ भनेको जस्तो स्थिरता हामीले भनेको स्थिरता होइन । लोकतान्त्रिक स्थिरता हो, गतिशीलताको स्थिरता हो, जनताको अभिमतसहितको स्थिरता हो । यति बेला नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार एउटा सङ्कल्पसाथ बनेको सरकार हो । यो स्थिरता र स्थायित्वका लागि बनेको सरकार हो । यसले त्यही स्थिरता र स्थायित्व दिन्छ र त्यही दिएर अगाडि बढिरहेको छ । सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनावको बारेमा चिन्ता गर्नु पर्दछ । त्यसैकारण नेकपा (एमाले)ले सरकार बनाउ, सरकार बचाउ भनेर कराएको छैन । नेकपा (एमाले)ले जहिले पनि चुनाव हेरेको हुन्छ । हामीले २०७० को चुनाव भन्यौँ, २०७४ को चुनाव भन्यौँ, २०७९ को चुनाव भन्यौँ र २०८४ को चुनाव भनिराखेका छौँ, मिसन २०८४ भनेका छौँ । म साथीहरूलाई आग्रह गर्न चाहन्छु, ढुक्कले मिसन २०८४ मा लाग्नुस् । सरकार चलाउने, सरकारको नेतृत्व गर्ने, सरकारमा सहभागी हुने, जे गर्नुपर्छ यहाँ, अहिले संसदको बनावट अनुसार देशलाई ठीक ढङ्गले अगाडि बढाउन सकेसम्मका प्रयासहरू नेकपा (एमाले)ले गर्नेछ । त्यसकारण यस कुरामा चिन्ता नगर्नुस्, मिसन–२०८४ मा ध्यान दिनुस् । मिसन, २०८४ एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने मिसन हो । त्यसबाट देश बन्छ, त्यसबाट समृद्धितर्फ देश जान्छ, त्यसबाट राष्ट्रिय एकता बन्छ ।
त्यसकारण हामी अनेक प्रकारका विविधताहरूको एकता खोज्छौँ र समानतामा एकता खोज्छौँ । यहाँ अनेक प्रकारका प्रयासहरू भइराखेका छन्, अनेक ढङ्गले साम्प्रदायिक विद्वेषहरू फैलाउने, जनता भड्काउने, नेपालीलाई फुटाउने र विभाजित गर्ने प्रयास भइराखेका छन् । जातका नाममा, धर्मका नाममा, भाषाका नाममा, संस्कृति, भूूगोल र अनेक नाममा फुटाउने प्रयासहरू भइराखेका छन् । यस्ता कुप्रयास र कुचेष्टाहरूबाट हामी स्पष्ट हुनुपर्दछ र देशलाई एकताबद्ध बनाएर लोकतन्त्रको रक्षा गर्दै, संविधानको रक्षा गर्दै समृद्धिको बाटोमा देशलाई अगाडि बढाउनु पर्दछ । त्यो काम तपाईंहरूले गर्न सक्नु हुन्छ, युवाहरूले गर्न सक्नु हुन्छ । युवाको नेतृत्व कामबाट, योग्यताबाट, क्षमताबाट आन्दोलनको नेतृत्व, विकासको नेतृत्वबाट स्थापित हुँदै जान्छ । म युवालाई आफ्नो नेतृत्व प्रष्ट र प्रकट रूपमा अगाडि बढाउनका निम्ति हार्दिक आग्रह गर्न चाहन्छु ।
अब म धेरै समय नलिऊँ । म तपाईंहरूलाई आग्रह गर्न चाहन्छु, म आज खासै बोल्ने मुडमा पनि थिइनँ, किनभने यो एउटा उत्सव हो, सेलेब्रेसन हो । यस सेलेब्रेसनलाई हामी त्यहीअनुरुप मनाऊँ भन्ने कुरा हो । यस सेलेब्रेसनमा जुट्न, खुशी हुन म युवालाई आग्रह गर्न चाहन्छु ।
नेपाल महान् हो, नेपाली जनता महान् हुन्
नेपाल महान् नेपाल हो । नेपाली जनता महान् नेपाली हुन् र तिनका सन्तान हाम्रा नयाँ पुस्ताहरू त्यस्तै महान् भएर निस्किने छन् र देशलाई अगाडि बढाउने छन् भन्ने मैले विश्वास लिएको छु । ढुक्क हुनुहोस्, यसको नेतृत्व नेकपा (एमाले)ले बाटो नबिराइकन गर्नेछ र गर्न सक्षम छ । यति भनेर यस उत्सवका सम्बन्धमा, यस चाडका सम्बन्धमा, यस गौरवपूर्ण दिनको सम्बन्धमा फेरि हामीले एउटा नयाँ सङ्कल्प गर्नुपर्ने छ, नयाँ सङ्कल्प गरौँ, स्पष्ट दृष्टिकोणका साथ हामी समृद्ध नेपाल सुखी नेपालीको सपना, जो राष्ट्रको आकाङ्क्षा हो, त्यसलाई सफल पार्ने बाटोमा सिङ्गै देश एकजुट भएर अगाडि बढौँ । त्यसका लागि हाम्रा युवाले राष्ट्रव्यापी रूपमा आआफ्ना ठाउँबाट नेतृत्व गर्नु पर्दछ । म युवालाई नेतृत्वका साथ अगाडि बढ्न आह्वान गर्दै तपाईंहरूमा धेरैधेरै शुभकामना व्यक्त गर्दै आफ्नो भनाई टुङ्ग्याउँछु । धन्यवाद ।
(सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले ११ वैशाख, २०८२ मा जनताले जितेको दिन (लोकतन्त्र दिवस)का अवसरमा आयोजित युवा उत्सवमा व्यक्त गर्नुभएको विचारको पूर्णपाठ)